देश

रविको विषयमा मानवअधिकार आयोगले लियो जानकारी

काठमाडौं।राष्ट्रिय मानवअधिकार आयोगले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी लिएको छ ।

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा मानव अधिकार हनन् भएको दाबीसहित परेको उजुरीका आधारमा आयोगले प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी लिएको हो ।

प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएकोले छानविन गरी मानव अधिकार संरक्षण गरीपाउँ भन्ने समेत व्यहोराको आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको आयोगका सहसचिवुमेत रहेका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिए ।

उनले घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितका प्रहरी उच्चअधिकारीहरुसँग सोमबार आयोगले थप जानकारी लिएको बताए ।

जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *