काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा पशुपन्छी बजार प्रवर्द्धधन निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले अछामको साफेबगर नगरपालिका वडा नम्बर ८ मा रहेको हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रालीलाई प्रक्रिया नपुर्याई हचुवाको भरमा रकम दिएको भन्दै डा।बलराम थापा, लेखा अधिकृत रामप्रसाद बजगाई, पशु विकास अधिकृत डा।पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल र पोलीटेक्निक इन्स्टिच्युट प्रालीका अध्यक्ष लोकबहादुर बोहोरा, व्यवस्थापक सुरतबहादुर भुल र पुष्कर भण्डारीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।
उनीहरु सातै जनाविरुद्ध ४४ लाख ४२ हजार ८६१ रुपैयाँ बिगो सहित जरिवाना सहितको सजायको माग गर्दै मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष ०७३–०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तरगत उक्त प्रालीसँग भएको सम्झौतामा २०७४ जेठ १५ सम्म काम सम्पन्न गर्नेगरी अनुदान रकम भुक्तानी लिने उल्लेख थियो ।