सम-सामयिक

बेलकोटगढीमा वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने योजनाको सम्झौता वडा कार्यालयबाट गर्न सुरु गरेको छ ।

भौगोलिक रुपमा ठूलो रहेको नगरपालिकाको कार्यालयसम्म उपभोक्ता समितिका पदाधिकारीलाई आउजाउ गर्न समस्या हुने देखिएपछि वडा कार्यालयबाटै योजना सम्झौता गर्न सुरु गरेको हो ।

नगर प्रमुख जगतबहादुर गुरुङको अनुसार बिनियोजित योजना तथा कार्यक्रम एवम् बजेटको प्रशासनिक तथा प्राविधिक पक्ष पूरा गरेर कार्यान्वयनको लागी उपभोक्ता समितिसंग योजना सम्झौताको लागी वडा–वडामा शिविर थालिएको छ ।

“उपभोक्ता समिति गठन भइसकेका वडालाई प्राथमिकता दिदै वडा कार्यालयबाट योजनाको सम्झौता र योजना कार्यान्वयनका सम्बन्धमा अभिमुखिकरण सञ्चालनमा ल्याइएको छ ।” नगरप्रमुख गुरुङले भन्नुभयो “वडा कार्यालयमा गरिने सम्झौताले लाभग्राही वडाबासीलाई योजना प्राप्त भएको सूचना प्रवाह गर्न सहज हुनेछ भने उपभोक्ता समितिका पदाधिकारीलाई जिम्मेवार बनाउन सहयोग पुग्नेछ ।”

योजना सम्झौता सहित उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनको चरणका सम्बन्धमा अभिमुखिकरण समेत गर्नुपर्ने हुदाँ जनप्रतिनिधि र कर्मचारी सम्मिलित नगरपालिकाको ‘टिम’ शिविर लिएर प्रत्येक वडा कार्यालयमा पुग्ने कार्यतालिका बनाइएको छ ।

वडाभित्र सञ्चालन हुने योजना कार्यान्वयन गर्न सार्वजनिक भेला मार्फत यसअघि गठन भएका उपभोक्ता समितिसंग नगरको तर्फबाट सम्झौता गरेर ती योजना कार्यान्वयनको क्रममा अपनाउने प्रशासनिक, आर्थिक, कानूनी, प्राविधिक विषयमा जानकारी समेत उपलब्ध गराउन थालिएको उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँको अनुसार नगरप्रमुख र उपप्रमुखले योजना कार्यान्वयनको लागी तोकिएको सयममा गुणस्तरीय काम गर्न निर्देशन दिदै नमूना काम गर्ने उपभोक्ता समितिलाई सम्मान र आवश्यकताको आधारमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।

योजना सम्झौता शिविरमा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठ, लेखा अधिकृत गोबिन्द प्याकुरेल, प्रशासन तथा योजना अनुगमन शाखा प्रमुख दिपक थिङले समितिको नाममा बैंक खाता सञ्चालन, योजना कार्यान्वयनको क्रममा गरिने खरिद सामाग्रिको बिलबिजकमा अपनाउनुपर्ने सावधानी, पान नं प्राप्ती, भुक्तानी मागको क्रममा पूरा गर्नुपर्ने प्रक्रिया लगायतमा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण गराइएको छ ।

विभिन्न तेह्रवटा वडा रहेको बेलकोटगढीमा चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सम्पादन गर्नुपर्ने योजनाको सङ्ख्या छसय भन्दाबढी छ । भौगोलिक रुपमा बेलकोटगढीको भुगोल (१५५ दशमलव ६ वर्ग किलोमीटर) भक्तपुर जिल्लाभन्दा ठूलो छ ।

संघीयताको मर्म अनुरुप योजना सम्झौता सेवालाई वडातहमा नै पु¥याए जस्तै बेलकोटगढीले कृषि र पशु विकास, महिला तथा बालबालिका एवम् ज्येष्ठ नागरिक लगायतका शाखाले प्रवाह गर्ने सेवालाई समेत वडा र वस्तीसम्म लैजाने नीति अबलम्वन गर्ने जनाएको छ ।