देश

कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

झापा । जिल्लाको कचनकवल गाउँपालिका विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी बताउछन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ २४ गते सरुवा भएर गएपछि भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा पुण्यप्रसाद पौडेल हाजिर भएका थिए । उनको पनि गत कात्तिक ९ गते सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।

“लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम प्रभावित भएको छ”, अध्यक्ष राजवंशीले भने, “गाउँपालिकाको काम ठप्पजस्तै बनेको छ ।”

गाउँपालिकाले आह्वान गर्नुपर्ने बोलपत्रदेखि अन्य दैनिक प्रशासनिक काम गर्न नसकिएको उनले भने । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग गरे पनि हालसम्म नपठाएको उनको गुनासो छ ।

आवश्यक निर्णय गर्ने, प्रमाणीकरण गर्ने, योजना आह्वान, सम्झौतालगायतका लागि प्रमुख प्रशासकीय अधिकृत अनिवार्य भएकाले मारमा परेको अध्यक्ष राजवंशी बताउछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *