
काठमाडौँ । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्न लागेको हो । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन गर्न लागेको कोशी प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।
आइतबार कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले नीजि क्षेत्रको सहकार्य र समन्वयमा यो सम्मेलन गर्ने तयारीका साथ मिति तोकेको छ । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो ।
प्रदेश लगानी प्राधिकरणले आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ । प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ । लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । प्रदेशका सम्भावित आयोजननको क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघलर स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्नेछ ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार प्रदेशले गर्नुपर्ने कानून संशोधन तत्कालै गर्ने तयारी समेत गरेको छ । पीपीपी मोडेलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो ।