काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय भेला आज (मंगलबार) देखि काठमाडौंमा सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला बुधबारसम्म चल्ने जनाइएको छ ।
भेलाको उद्घाटन आज बिहान ११ बजे हुनेछ । केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । भेलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन, पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेज पेश हुनेछ ।
पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो । त्यहीअनुसार नै पार्टीको केन्द्रीय समितिले राष्ट्रिय भेलाको मिति तय गरेको हो । यही भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति तय गर्नेछ ।



