
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल मधेश प्रदेशमा सरुवा भएका छन् । महानिर्देशक रिजाललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कामकाजमा खटाएको हो । रिजालले ७ महिना अघिदेखी महानिर्देशकको जिम्मेवारी समाल्दै आएका थिए ।
यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशका प्रदेश सचिव राजिव पोखरेलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । सम्भव मन्त्रालयले पोखरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिने वा त मन्त्रालयमा कार्यरत प्रशासन सेवाको सहसचिवलाई खटाउने सक्ने संभावना छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत रहेको सूचना तथा प्रशारण विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । रिजाल करिव ३ महिना अघिदेखी विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार सरुवा भएर आएकाले सम्भव त उनैलाई सूचना तथा प्रशारण विभागको महानिर्देशकको जिम्मेवारी दिइने छ ।