काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । मंगलवार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले बुढीगण्डकी जलविद्युत आयोजना लगायतका अधुरा आयोजना निर्माण सम्पन्न गर्नेगरी अघि बढेको बताए । उनले रानी जमरा कुलरीया सिँचाई प्रणाली नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठूलो सिँचाई प्रणाली भएको बताए ।
उनले उक्त आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत र भौतिक प्रगति ७४.३६ प्रतिशत भएको बताए । उक्त आयोजनामा हालसम्मको कुल खर्च २० अर्ब ५ करोड ३० लाख भएको उनको भनाई छ ।
उनले यसमा ४.१७ मेगावट विद्युत पनि उत्पादन भर्खरै सम्पन्न भएको भन्दै सम्पूर्ण आयोजनाको ३८ हजार हेक्टरलाई ३ भागमा विभाजन गरेका काम भइरहेको बताए ।
मन्त्री खड्काले पहिलो र दोस्रो विश्व बैंकको लगानीमा २० हजार हेक्टर सिंचाई गर्ने थियो त्यसमा १८ हजार थपिएर ३८ हजार ३ सय सिँचाई गर्ने भनिएको बताए ।
उनले भने,‘रानी जमरा कुलरीया सिंचाई प्रणाली नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठूलो सिँचाई प्रणाली हो । आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत भएको छ । भौतिक प्रगति ७४.३६ प्रतिशत भएको छ । हालसम्मको कुल खर्च २० अर्ब ५ करोड ३० लाख भएको छ ।
यसमा ४.१७ मेगावट विद्युत पनि उत्पादन गरेका छौं । विद्युत उत्पादन भर्खरै सम्पन्न भएको छ । सम्पूर्ण आयोजनाको ३८ हजार हेक्टरलाई ३ भागमा विभाजन गरेका छौं । पहिलो र दोस्रो विश्व बैंकको लगानीमा २० हजार हेक्टर सिंचाई गर्ने थियो त्यसमा १८ हजार थपिएर ३८ हजार ३ सय सिँचाई गर्ने भनिएको हो । तेस्रो चरणको काम सम्पन्न गर्न समय लाग्ने र केही समस्याहरु भएको पाइयो । ६ हजार हेक्टर क्षेत्रफलमा सिंचाई गर्ने दोस्रो चरणमा राखिएको छ । तीन चरणमा काम भइरहेकाले निर्माण सम्पन्न हुन समय लागेको हो । अहिले सम्म मुल इन्टेक सम्पन्न भएको छ । वन र जग्गा प्राप्तिको र रकम अभावको कारण समस्या भएको छ ।’
उनले लामो समयदेखि बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयन गर्न सक्दा थन्किएर बसेको बताए । ४३ अर्ब भन्दा बढी लगानी भएको आयोजना रुग्ण भएर बसेको भन्दै सरकारको अधुरा आयोजनाहरु सम्पन्न गर्ने लक्ष्यमा रहेको उनले बताए ।
यो आयोजना बन्दै गर्दा बारा पर्साको सिँचाईको समस्या समाधान हुने उनको विश्वास छ । वर्तमान सरकारका मन्त्रीमण्डलमा कुनै पनि विवाद र प्रश्न नहुने गरेको उनले बताए ।




