देश

मानवता प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन

काठमाडौँ । वि.सं २०८२ भित्र स्वयं आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा जुटेको मानव सेवा आश्रमले आज आफ्नो १३ औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

समाजलाई सकारात्मक दिशातर्फ रूपान्तरण गर्दै मानवीय सेवामा समर्पित मानव सेवा आश्रम स्थापनाको १२ औँ वर्ष पूरा भई १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा राष्ट्रव्यापी रुपमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

देशका १९ ओटै जिल्ला शाखाको आयोजना तथा स्थानीय अभिभावक, शुभेच्छुक तथा विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्व शान्तिको कामना गर्दै सेवा केन्द्रहरूमा साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित मानव सेवा आश्रम २०६९ भदौ १३ गते स्थापना भएको थियो । मकवानपुर, हेटौँडामा मुख्य कार्यालय रहेको यसका २४ ओटा सेवा केन्द्र रहेका छन् ।

हालसम्म यस संस्थाले १० हजार दुई सय ३६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरी चार हजार ३७ जनाको सुखद पारिवारिक पुनर्मिलन गरिसकेको छ भने आठ सय ४९ जनाको सामुदायिक पुनर्स्थापना भएको छ ।

उद्धार गरिएकामध्ये उपचारात्मक सेवा पाई स्वास्थ्य लाभ गरेर बाहिरिनेको संख्या तीन हजार चार सय ६२ रहेको र मानसिक अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थाका एक हजार सात सय २० जना संस्थाको २४ वटै शाखामा आश्रित भई स्वास्थ्य लाभ लिइरहेको संस्थाले जनाएको छ ।

आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तराद्र्धमा अपहेलना गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउँदै गएको समयमा मातृत्व र मातृभूमिप्रतिको दायित्वबोध गराउँदै अशक्त, अपाङ्ग, जेष्ठ नागरिक, मानसिक तथा शारीरिक रुपमा कमजोर पारिवारिक सदस्यप्रति करुणाभाव जागृत गराउन देशका विभिन्न सहरमा ५० भन्दा बढी आमा सेमिनार आयोजना गरिएको संस्थाका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । यसमा राज्यको समेत ध्यानाकर्षण गर्दै हरेक वर्ष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्दै सहयोगापेक्षी सडक आश्रित मानवहरुको खोज, अध्ययन र उद्धार गरी ‘मिसन २०८२’ को लक्ष्य हासिल गर्न अभियान सञ्चालन गरिएको उनले बताए ।

उनका अनुसार २०८२ सम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र घोषणा गर्ने क्रममा प्रदेशमा गण्डकी र कर्णाली प्रदेश, जिल्लाहरूमा मकवानपुर, बाजुरा, झापा, पालिकाहरूमा गोरखा, हेटौँडा उपमहानगर, भरतपुर महानगर, वुटवल उपमहानगर, विराटनगर महानगर, वीरगञ्ज महानगर घोषणा भइसकेका छन् भने पशुपति क्षेत्र, सिद्धबाबा मन्दिर धाम पनि सहयोगापेक्षी सडकआश्रित मानवमुक्त क्षेत्र घोषणा भइसकेका छन् ।

मानव सेवा आश्रमले कुनैपनि वैदेशिक दातृ निकायहरूको सर्तसहितको सहयोग स्वीकार नगर्ने नीतिबमोजिम देश विदेशमा रहनुहुने परोपकारी उदारमना नेपाली दाता दातव्यहरूले स्वैच्छिक रुपमा अर्पण गर्ने योगदान र नेपाल सरकारका विभिन्न निकायको सहयोग, सहकार्य र अनुदानबाट सञ्चालन हुँदै आइरहेको छ । ‘मानवीयताको कुनै सिमाना हुँदैन’ भन्ने तथ्यलाई चरितार्थ गर्दै संस्थाको अभियानलाई राष्ट्रभित्र मात्र सीमित नगरी विभिन्न मुलुकमा मानवता प्रवर्द्धनका विविध कार्यक्रमहरू सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *