देश

न्यायाधीश सुवेदीको इजलासमा एआईजी ज्ञवालीसहित पाँच जनाको रिट

काठमाडौं । नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी कर्मचारीको रिटको सुनुवाइ न्यायाधीश सारंगा सुवेदीको इजलासमा हुने भएको छ । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरीले अवकाश कार्यान्वयन नगर्न माग गर्दै दायर रिटको पेशी बिहीबार न्यायाधीश सुवेदीको इजलासमा परेको हो ।

एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका हुन् । नेपाल प्रहरीमा तीन तरिकाले अवकाश हुने प्रावधान छ । प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीहरू ५६ वर्षको उमेरमा अवकाश जाने उल्लेख छ ।

उमेर हदकै कारण एआइजी ज्ञवाली भदौ २६ गते अवकाशमा जान लागेका हुन् । प्रहरी निरीक्षक भने ५३ वर्षको उमेरमा अनिवार्य अवकाश जाने नियमावलीमा उल्लेख छ । ३० वर्षे सेवा अवधिकै कारण प्रहरी अधिकारीहरू अवकाश जान लागेको भन्दै नेपाल प्रहरीका २१ जना प्रहरी कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

भदौ ६ गते उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले तत्काललाई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेका थिए । अन्तरिम आदेश जारी भएपछि सशस्त्र प्रहरीका १२ जना कर्मचारीहरू पनि सर्वोच्च पुगेका थिए । न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *