काठमाडौं । सांसदहरुले तीनै तहको सरकारको समन्वय र सहकार्यमा वर्षा हुनभन्दा अगावै राजमार्ग एवम् स्थानीय सडक मर्मत गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरुले वर्षात्का समयमा विशेषगरी ग्रामीण क्षेत्रका सडकमा यात्रा गर्न जोखिम हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद नारायणप्रसाद आचार्यले तीनै तहको सरकारको समन्वयन र सहकार्यमा सडक मर्मत सम्भार कोष बनाई सहज यातायात व्यवस्था गर्न माग गरे । उनले वर्षात् समयमा बाढीपहिरो र सडक दुर्घटनाबाट जनधनको क्षतिबारे उल्लेख गर्दै सडक मापदण्ड बनाइ कार्यान्वयनको लागि समेत सरकारको ध्यानार्कषण गराए ।
मनसुनको समयमा हुने क्षतिको एकीन गर्न अध्ययन गर्नुपर्ने सांसद ठाकुरप्रसाद गैरेले बताए । मानवीय, भौतिक र जलवायु परिवर्तन जस्ता विभिन्न कारणबारे अध्ययन गर्दै सम्भावित जोखिम न्यूनीकरणमा ध्यान दिन उनले आग्रह गरे ।
सांसद देवेन्द्र पौडेलले बागलुङ जिल्लाका विभिन्न स्थानमा प्राकृतिक घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै राज्यका तर्फबाट हुने उचित व्यवस्थापन नपुगेको बताए । बागलुङसँगै देशभर बाढीपहिरोबाट विस्थापितलाई तत्काल बसोबास र खाद्यान्न उपलब्ध गराउन समेत उनले माग गरे । सांसद नागिना यादवले विपद् व्यवस्थापनमा सरकारको प्रयास जनताले महसुस गर्न नसकेको बताइन् । सरकारले उपलब्ध गराउने राहत सबै उपलब्ध नभएको उनको भनाइ छ ।
सांसद विमला सुवेदीले जलवायु परिवर्तनको असरबाट बच्न बेलैमा सचेत हुनुतर्फ ध्यानार्कषण गराइन् । सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारविरुद्धको आवाज उठाउँदै आएका युवालाई सरकारले धरपकड गरेको बताउँदै सरकारलाई अलोकतान्त्रिक काम नगर्न र शिक्षा क्षेत्रलाई दलीय राजनीतिको प्रभावमुक्त बनाउन समेत ध्यानार्कषण गराए ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस पोखरा विश्वविद्यालयको भौतिक संरचना जीर्ण रहेकोतर्फ सांसद दामोदर पौडेल बैरागीले सरकारको ध्यानार्कषण गराए ।
सांसद दीपक गिरीले संस्कृत विश्वविद्यालय बेहाल अवस्थामा रहेको जनाउँदै यस विश्वविद्यालयको अस्तव्यवस्तताको तत्काल अन्त्यका लागि माग गरे । सांसद दीपकबहादुर सिंहले भ्रष्टाचारको मुद्दामा हदम्याद हटाउन माग गरे ।
सांसद दिपा राईले सभामुखलाई विधेयिकी काम दिनका लागि माग गरिन् । अर्का सांसद देवीप्रकाश भट्टचनले कोरला सिमामा नेपालतर्फ व्यवस्थापन गर्न माग गरे । सांसद धवलशमशेर जङ्गबहादुर राणाले राप्ती सुनारी बाँकेमा गाउँपालिकाले बनाएको सार्वजनिक भवन विद्युत् प्राधिकरणलाई प्रदान गर्न माग गरे ।
राप्तीमा तटबन्धनको अवस्था नाजुक भएको तर्फ उनले ध्यानार्कषण गराए । सांसद नारायणी शर्माले शेयर बजारमा आम सर्वसाधरणभन्दा पनि बिचौलियाको हालिमुहाली भएको आरोप लगाउदै देश गम्भीर आर्थिक सङ्कटतर्फ धकेलीएकोमा सचेत गराए । उनले सरकार आर्थिक उन्नतीतर्फ केन्द्रीत हुनुपर्ने बताए ।
सांसद निशा डाँगीले नेपाली युवाजन शक्तिलाई विदेश पलायन हुनबाट रोक्न सरकार असमर्थक रहेको बताइन् । “अब एनओसी दिँदा वा श्रम स्वीकृति दिँदा एउटा अध्ययन गरियोस साच्चै पढ्न गएका हुन कि काम गर्न ? अथवा उतै सेटल हुन ? तथ्याङ्कबिना नीति बनाउन सकिँदैन । सरकारले युवाको मनोभाव बुझने प्रयास गरोस”, सांसद डाँगीले भनिन् ।
सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवाहरुको लागि भ्याट छुट हटाउदा सेवाग्राही महँगो शुल्कमा परेको गुनासो गरिन् । उनले वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न डिजिटल लेनदेनमा भ्याटको आवश्यकतालाई पुनःमूल्याङ्कन गर्न आवश्यक भएको बताइन् । “नेपाल क्यलयरिङ हाउसले अब प्रत्येक लेनदेनमा अधिकतम ८ रुपैयासँगै १३ प्रतिशत भ्याट लगाइरहेको छ । जसका कारण बैंक र उपभोक्ताका लागि लागत बढाउदैछ”, सांसद गौतमले भनिन् ।
सांसद प्रतिक्षा तिवारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ३० जना करार सेवामा रहेका कर्मचारीलाई पूर्वग्राही तरिकाले हटाएको भन्दै राष्ट्रिय सर्तकता केन्द्रको पत्रअनुसार पुनःबहाली गरी सेवामा निरन्तरता दिनका लागि सभामुखमार्फत सहरी विकासमन्त्रीको ध्यानार्कषण गराइन् ।
सांसद प्रभु हजाराले ऊर्जा मन्त्रालयको ध्यानार्कषण गराउँदै मधेस प्रदेशमा अघोषित तरिकाले लोडसेडिङ भइरहदा त्यसको अन्त्यको लागि माग गरे ।
सांसद वासुदेव घिमिरेले नेपाल भम्रणमा आउने विदेशी पर्यटकले यातायात व्यवस्था कार्यालयबाट परमिट लिएर भित्रिने पर्यटकलाई चेकजाँचको नाममा अनावश्यक सास्ती दिएको बताए ।
सांसद प्रेमबहादुर आलेले खुटिया दिपायल, उरैञ्ज्याङसम्मको सडक निर्माणको फाइल अड्किएको भन्दै भौतिक पूर्वधार तथा यातायातमन्त्री र योजना आयोगको ध्यानार्कषण गराए ।
सांसद प्रेम सुवालले अविरल वर्षाका कारण प्रभावितको व्यवस्थापन, मधेश कारागार, शिक्षाको सुधार र डेङ्गीको नियन्त्रणतर्फ ध्यानार्कषण गराए ।सांसद विन्दाबासिनी कङ्साकारले नारायणगढ मुग्लिन सडक दुर्घटनामा बेपत्ताको खोजी गर्न सरकार असमर्थक भएको जनाउँदै तत्काल खोज तथा उद्धारकार्यमा तदारुकताका लागि ध्यानार्कषण गराइन् ।
सांसद विनिता कठायतले मङ्कीपक्स सङ्क्रमण छिमेकी देशमा देखिएको जनाउँदै समयमै सचेतना अपनाउन सरकारलाई सुझाव दिइन् ।




