हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । आज (बुधबार) एक कार्यक्रमबीच मन्त्रिपरिषदका सदस्यहरूसँग उनले करार सम्झौता गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि १२ जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको करार सम्झौता कार्यक्रममा युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन भने अनुपस्थित भए ।
उनी अस्वस्थ भएका कारण सम्झौतामा सहभागी हुन नसकेको बताइएको छ । मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेका मन्त्री रहेका मधु श्रेष्ठसँग करार सम्झौता नभएको बागमती प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन् ।
मुख्यमन्त्री लामाले आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ, स्वास्थ्य मन्त्री किरण थापा मगर, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद शिलवाल, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङ, खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्याम खड्का र संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।
लामाले प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्कीसँग पनि करार सम्झौता गरेका थिए । अब सचिव कार्कीले आफू मातहतका कर्मचारीसँग पनि सम्झौता गर्नेछन् । प्रदेश सुशासन ऐन २०७७ अनुसार प्रत्येक वर्ष यसै गरी मुख्यमन्त्रीले मन्त्री तथा कर्मचारीले मातहतका कर्माचारीसँग सम्झौता गर्दै आएका छन् । करार सम्झौताका कारण बागमती प्रदेशको बजेट, नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुने मुख्यमन्त्री लामाको विश्वास रहेको छ ।




