देश

पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु

भरतपुर। भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– १२ मुनालचोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मंगलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो । माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उहाँको मृत्यु भएको हो । पाठेघरमा सिस्ट भएको भन्दै उनकाे शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताए । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसियूमा राखे पनि बचाउन नसकिएको उनले जानकारी दिए।

मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्युमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन् । मंगलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्याउने सुई लगाई बेहोस बनाउने क्रममा उनकाे होस नआएको पौडेलले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान हुँदै छ ।

अस्पतालले समेत आन्तरिक छानबिन समिति बनाएको जनाएको छ । मृतकका आफन्तले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन्। अहिले जिल्ला प्रशासन कार्यालयमा घटनाको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *