काठमाडौं । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिन थालेको धेरै भयो। तर उनले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सकेकी छैनन्।
त्यसबाहेक उनले कतिपय निजी अस्पतालमा समेत बायोडाटा छाडेकी छिन्। तर कुनै पनि अस्पतालले उनलाई बोलाएका छैनन्।
बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, केही महिनाअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा करार सेवाका लागि आवेदन दिँदासमेत उनले रोजगारी पाइनन्। ‘बुझ्दै जाँदा थाहा भयो, वीर अस्पतालमा पहुँच भएकाले मात्र रोजगारी पाउने रहेछन् ’, उनले भनिन्,‘पहुँच नहुनेलाई वीर अस्पतालमा मात्र होइन, कुनै पनि सरकारी अस्पतालमा जागिर पाउनै मुस्किल रहेछ।’
निष्मा मात्र होइन, एमबीबीएस तथा एमडी पास भएका धेरै डाक्टरको पीडा यस्तै छ । नेपालमा अध्ययन पूरा गरेका तर राजनीतिक पहुँच नभएका सयौँ डाक्टर बेरोजगार छन्।
नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ। नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपैयाँभन्दा बढी खर्च गरेर एमबीबीएस पास भएका चिकित्सकसमेत बेरोजगार छन्।
एमबीबीएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन्।
डा. एम शाह जडीबुटीमा बस्छन्। ६ महिना कुरेर बल्लतल्ल सानो निजी अस्पतालमा काम गरिरहेका उनलाई अस्पतालले काम अनुसारको तलब सुविधा उपलब्ध गराएको छैन। शाहले अस्पतालले आफूलाई २४ सै घण्टा काममा लगाएर मासिक ३२ हजार रुपयाँ मात्र उपलब्ध गराएको बताए।
‘काठमाडौंमा बसेर ३२ हजार तलबले रोजीरोटी धान्नसमेत कठिन छ’, उनले भने, ‘यो जागिर खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार जस्तो भएको छ।’ शाहले एमडी अध्ययनका लागि एक वर्षको अनुभव चाहिने भएकाले एक वर्षसम्म निजी अस्पतालले काममा दलाइरहने दुखेसो पोखे।
मेडिकल काउन्सिलका प्रवक्ता डा.सतिशकुमार देवले चिकित्सा आयोगको नियमले गर्दा एमबीबीएसपछि अनिवार्य एकवर्षे अनुभव भएकालाई मात्र एमडी अध्ययन गर्न दिने नियम रहेको बताए। ‘वास्तवमा एकवर्षे अनुभव खोजिँदा धेरै डाक्टर पीडित भएका छन्’, उनले भने, ‘सरकारी अस्पतालमा जागिर पाउँदा त सरकारी नियम अनुसारको तलब, सुविधा पाउँछन् तर निजी अस्पतालले एकवर्षे अनुभवको फाइदा लिएर श्रम शोषण गरिरहेका छ।