देश

राष्ट्रियसभाः ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ’

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं सांसद सोनामगेल्जेन शेर्पाले शुक्रबार सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराए ।

आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उनले भने, “सोलुखुम्बुको थामेमा भीषण बाढीका कारण घरहरु क्षतिग्रस्त भएको, एकजना बेपत्ता भएको, पशुचौपायाको लागत आउन बाँकी छ, विद्युत् र सञ्चार क्षेत्रमा पूर्ण रुपमा क्षति भएको छ । यथाशीघ्र यसको विवरण सङ्कलन गरी थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ ।”

सांसद शेर्पाले सरकारले स्थलगत अध्ययन गरी आवश्यक मात्रामा पीडितहरुलाई राहत वितरण गरेकोप्रति सरकारको प्रशंसा गरे । उनले नेपालमा पछिल्लो समयमा वातावरण परिर्वतनको असर देखिन थालेको बताउँदै वातावरण र जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा राखे ।

ज्लवायु परिवर्तनबारे नेपालमा भएगरेका अध्ययन/अनुसन्धानबारे जनता सुसूचित गर्न नसकिएको सांसद शेर्पाले बताए । “थामे नजिकै रहेका पोखरीहरु कति खतरामा छन् भन्नेबारे विभिन्न सङ्घसंस्थाले अध्ययन गरिरहेका छन् तर सरकारसँग तथ्याङ्क प्राप्त भएको छैन”, उनले भने । उनले नेपालमा गरिने सबै अनुसन्धानको तथ्य सरकारले राख्नुपर्ने माग गरे ।

सरकारले मुलुकमा हुने अध्ययन अनुसन्धानका लागि छुट्टै रकमको व्यवस्था गर्नुपर्ने भन्दै सोलुखम्बुका विभिन्न स्थानमा बाढीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन समाधानका उपाय अपनाउनुपर्नेमा सांसद शेर्पाले जोड दिए । उनले विद्युत् नहुँदा सोलुखुम्बुका धेरै स्थानमा उद्योगहरु बन्द भएको सुनाउँदै तत्काल विद्युत्को समस्या समाधान गर्नुपर्ने बताए ।

सांसद शेर्पाले भने, “थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्नका लागि सरकारले पहल लिनुपर्छ साथै त्यहाँ रहेका चारवटा पोखरीको जोखिमबारे अध्ययन गरी समाधानका उपाय निकाल्नु जरुरी छ ।” आगामी दिन सरकारले हिमाली क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *