कालीकोट । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले कालीकोटको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ ।
हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो ।
पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पुर्याएको स्थानीय जवानसिंह सुनारले बताए ।
‘कालीकोटमा धानखेती हुँदैन । कालीकोटको मुख्य बाली मकै हो’, उनले भने, ‘हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।’
अहिलेसम्म कालीकोटका किसानले कृषि बीमा गरेका छैनन् । कालीकोटको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पुर्याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताए ।
‘हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ’, उनले भने, ‘क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।’




