कोशी प्रदेश

हिमताल फुट्दा थामे गाउँका घरहरू बगायो

सोलुखुम्बु । खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ । दुधकोशी तटीय क्षेत्रमा जोखिम हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरू बगाएको हो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका केही हिमतालहरू फुट्दा थामे बस्तीका केही घर र होटलहरु बगाएको हो ।

थामे खोलाको शिरमा रहेका हिमतालहरू फुटेर बाढी आएको खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए । उक्त क्षेत्रमा सञ्चार सम्पर्क पनि स्थापित हुन नसकेकाले कति वटा ताल फुटे भन्ने यकिन विवरण आउन कठिन भइरहेको प्रवक्ता शेर्पाको भनाइ छ ।

सिङ्गो थामेमा बाढी पसेको र एउटा होस्टेल र २ वटा होटलहरु पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताए । थामेको बाढी दुधकोशीमा मिसिएसँगै दुधकोशी तटीय क्षेत्रमा जोखिम रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताए । तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन प्रशासनले अपिल समेत गरेको छ ।

दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरूमा त्रास बढेको हो । बाढीले के कति मानवीय क्षति पुर्‍यायो भन्ने यकिन भने हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *