देश

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुस् : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् ।

काठमडौंमा शुक्रवार रासस मिडिया सङ्ग्रहालय शुभारम्भ गर्दै यस्तो बताएका हुन् । उनले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताए । सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताए । उनले जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने बताए ।

उनले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको सरकारको भएको बताए । मन्त्री गुरुङले भ्रष्टाचार भइरहने, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बताए ।

उनले भने ‘ जम्मा बजेटको ३० प्रतिशत पनि विकास बजेट हुँदैन । तर त्यो पनि आधा भनेपनि जम्मा बजेटको १५ प्रतिशत हुन्छ । त्यस्तो देशमा विकास कसरी हुन्छ ? उत्पादन, उत्पादकत्व कसरी बढ्छ । उत्पादन र उत्पादकत्व नबढेपछि गरिबी कसरी घट्छ ? रोजगारी सिर्जना हुँदैन, बैंकमा पैसा जाँदैन । जनताको हातमा पैसा जाँदैन । व्यापार, व्यवसाय हुँदैन । सबै चिज ठप्प हुन्छ । त्यस्तो स्थिति छ । सुशासनको अभावका कारणले अर्थात् हामीले ठिक ढंगले काम गर्न नसकेका कारणले भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको हो । गुड गभर्नेन्स कायम गर्नु सरकारको दायित्व हो । भ्रष्टाचार भइरहने, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति छ । यसमा मिडियाको भुमिका ठूलो छ । मिडियाले आफ्नो भुमिका राम्रोसँग पूरा गर्ने हो भने सरकार उत्तरदायी हुन बाध्य हुन्छ, जनता र मुलुकको समस्याप्रति । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुपर्छ । उनीहरूलाई रेस्पोन्सीबल बनाउनु पर्छ ।’

सञ्चारमन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको बताए । नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताए । सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्यतथ्यमा आधारित हुनुपर्ने बताए । उनले सरकारको भजन गाउनु नपर्ने भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री र मन्त्रीहरूको प्रशंसा गर्न आवश्यक नरहेको तर सही काम गर्नेहरूलाई प्रेरित गर्न आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *