काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्नातक तह सम्मको पठनपाठन गराउने तयारीलाई अगाडी बढाउने निर्णय गरेको छ । गाउँपालिकाले स्नातकसम्मको अध्ययन पुरा गर्न घर छोडेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्नकै लागि गाउँपालिकाभित्रै स्नातक तहसम्मको अध्ययन अध्यापन गराउने तयारीलाई तिव्रता दिने निर्णय गरेको हो ।
मङ्गलवार दिप्रुङ चुइचुम्मा गाउँपालिका शिक्षा शाखाले एक विज्ञप्ति जारी गर्दै स्नातक तहसम्मको शिक्षालाई प्राथमिकता दिन क्याम्पस स्थापनाका लागि क्याम्पस सञ्चालनार्थ प्रस्ताव पेस गर्न कक्षा ११\१२ सञ्चालित सामुदायिक माध्यमिक सबै विद्यालयहरूलाई आह्वान गरेको छ । भौतिक पूर्वाधारको विवरण सम्भावित विद्यार्थी सङ्ख्याको विवरण, सञ्चालन गर्न चाहेको सङ्काय, सञ्चालन गर्न आवश्यक मानव संसाधनको विवरण र सम्भावित आर्थिक स्रोतको विवरण सहितको प्रस्तावना पत्र , आम सरोकारवालाहरूको बैठक निर्णयको प्रतिलिपिसहित क्याम्पस सञ्चालनार्थ प्रस्ताव पेस गर्न गाउँपालिकाले आग्रह गरेको हो ।
गाउँपालिकाको शैक्षिक उन्नयन र विकासका लागि स्नातक तह सम्मको पठन पाठन हुने क्याम्पस स्थापना गर्न आवश्यक देखिएको गाउँपालिकामा क्याम्पस स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गाउँपालिकाले गरेको शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिए ।
अहिले दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र स्नातक तहसम्मको पठनपाठन नहुँदा गाउँपालिकाभित्रका विद्यार्थीहरू स्नातक तहसम्मको अध्ययन पुरा गर्न आफ्नो घर छोडेर अन्यत्र गएर घर भाडा तिरेर बस्न बाध्य छन् । गाउँपालिकाले विद्यार्थीहरूको रुची अनुसार अध्ययन गर्न सक्ने वातावरण सिर्जना गरी स्नातक तहसम्मको शिक्षा गाउँपालिकाभित्र प्रदान गर्न सके आगामी दिनमा स्थानीय विद्यार्थीहरूले अध्ययनकै लागि गाउँ छोड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । गाउँपालिकाले स्नातक तहसम्मको अध्ययन अध्यापन गराउँदा जिल्लाभित्र तथा बाह्य ठाउँमा पढाई हुने सङ्कायहरूलाई प्राथमिकतामा राख्न सक्यो सबै विद्यार्थीहरूले आफ्नो रुची अनुसार अध्ययन गर्न सक्छन् ।





