काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफूहरु तयार रहेको बताएका छन् ।
एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री लामाले वागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए ।
उनले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।
मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए ।उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
उनले भने– ‘पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न वागमती प्रदेश सरकार तयार छ । वागमती प्रदेशले पर्यटन प्रवद्र्धनका लागि यस अघि जुन लगानी गरेको छ । त्यो लगानी फजुलमा गरेको हामीले देख्यौँ । मन्दिर, गुम्बा छरिएर बनाएको छ । सबै ठाउँमा छरेर बनाएर टुरिजम आउँदैन । अर्को डाँडामा टावर बनाएको छ । टावर कहाँ बनाउने, मन्दिरहरु कहाँ कहाँ बनाउने भन्नेकुरा फरक छ । हाम्रो समाजलाई पनि शुद्धिकरण गरेर टुरिष्टहरुलाई आकर्षित गर्ने कम्तिमा पनि २÷३ दिन घुम्ने ठाउँ चाहिएयो नि । पशुपतीमा धार्मिक पर्यटकको दृष्टिले आउँछ कोही । हरेक क्षेत्रको पर्यटकलाई आकर्षण दिने काम गर्नुपर्दछ । त्यसो गर्न सकियो भने हामी सफल हुनसक्छौं । त्यसकारण म के आश्वासन दिन चाहन्छु भने हामी व्यवसायीको पक्षमा छौं । व्यवसायीको समस्या हामीलाई थाहा छ । ’
मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।




