राजनीति

नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियो : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रवक्ता महतले खुकुलो मौदिक नीति र काँग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गरे ।

उनले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराए ।

प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औंल्याउँदै सर्वसाधारणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गरे ।

उनले भने, ‘काँग्रेस र एमालेको जुन संयुक्त सरकार बनेको छ । त्यसले पनि आम जनमानसमा एउटा विश्वास र भरोसा बढेको कारणले पनि आर्थिक गतिविधि आउने दिनमा बढ्छ भन्ने कुरामा म विश्वस्त छु । तर त्यो भनेर हामीलाई निष्क्रिय हुने छुट छैन । हामी अत्यन्त क्रियाशीलताका साथ काम गर्न जरुरी छ भन्ने मलाई लाग्छ । जहाँसम्म मौद्रिक नीतिको सवाल छ । नयाँ मौद्रिक नीति आउँदै गर्दा सेयर मार्केटमा नयाँ गति देखिएको छ । तर यो शेयर मार्केटमा जसरी बुल स्ट्रेन्थ देखिएको छ । त्यसलाई हामीले सहज रूपमा लिनसक्ने अवस्था छैन । त्यहाँ केही चलखेल गर्नेहरूका म्यानुपुलेशन गर्ने सम्भावना देखिएको छ ।’

प्रवक्ता महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्नसक्ने खतरा रहेको औंल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *