देश

सुदूरपश्चिममा मुख्यमन्त्री शाहको शपथ आज, मन्त्रिपरिषद पनि विस्तारको तयारी

कैलाली । चार महिनामै सरकारको नेतृत्वमा फर्किएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (सोमबार) शपथ लिँदैछन् । आइतबार दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिममा आजै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी गरिएको छ । मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ ग्रहण गराउने तयारी रहेकाले शपथ ग्रहण कार्यक्रम केही ढिला राखिएको एक सांसदले जानकारी दिएका छन् । उनका अनुसार कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लागिसकेको छ ।

सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिने गरी भागबण्डा टुंगिसकेको उनले जानकारी दिएका छन् । दलहरूले मन्त्रीको नाम टुंगो लगाएपछि आजै मुख्यमन्त्रीसँगै उनीहरूको पनि शपथ ग्रहण गराउने तयारी रहेको ती सांसदले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *