गण्डकी प्रदेश

तल्लो चिप्लाका स्थानीय त्रिपालमुनि

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ तल्लो चिप्ला गैरीगाउँका स्थानीयहरु त्रिपाल टाँगेर बसेका छन् । साउन १२ गतेको अविरल वर्षाले बस्ती माथिका जमिन चिराचिरा पर्नुका साथै पहिरोको जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० घरपरिवार डाँडाँगाउँमा त्रिपाल टाँगेर बस्न थालेका हुन् ।

वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब १५० मिटर माथि जमिन फाटेर स–साना दर्जनौ स्थानमा चिरा परेको र पहिरोको जोखिम बढेको बताए । उनका अनुसार ठूलो पानी आएमा बस्ती बगाउन सक्ने भएकाले तत्कालका लागि स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ । गाउँपालिकाबाट २५, जिल्ला प्रशासन कार्यालयबाट ४ र नेपाल रेडक्रस सोसाइटीबाट १० त्रिपाल उपलब्ध गराइएको वडाध्यक्ष घलेले जानकारी दिए ।

स्थानीयहरूले अस्थायी रुपमा मकैबारीमा त्रिपाल टाँगेर रात बिताइरहेका छन् । भदौसम्म जोखिम रहने भएकाले मकैबारीमा त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यतामा स्थानीय छन् । गाउँका करिब १६० स्थानीयले मुख्यमुख्य सामान आफन्तकामा सारिसकेका छन् । बिहान बेलुका खाना बनाउन र खान घर जाने र सुत्नका लागि बुलुका ५ः३० बजे नै विद्यालय र आफन्तको घरमा जाने गरेका छन् ।

स्थानीय कमल गुरुङले भन्छन्, ‘बिहानै घर फर्किन्छौं, बालबच्चा र वृद्धाहरुलाई आफन्तकोमा छाडेर बिहान खाना खाएर खेतबारीमा काम गर्छौं । मौसम खराब भएको बेला काम गर्दै गर्दा छाडेर अर्को गाउँ जाने गरेका छौं । अहिले घरमा काम गर्न पनि डराइरहेका छौं ।’

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पहिरोको जोखिम रहेकाले अस्थायी बसोबासको व्यवस्था गरिएको र स्थानीयहरूले त्रिपाल टाँगेर बस्न थालेका बताए । पहिरोले बस्ती सखाप गर्ने जोखिम रहेकाले तत्कालका लागि स्थानीयहरुलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *