राजनीति

महराले हटाएको बुटवलको मुख्यमन्त्री सम्पर्क कार्यालय आचार्यले ब्यूँताए

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याएका छन् । बुटवल उपमहानगरपालिका– ८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा २०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।

दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरू लगिए पनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको मुख्यमन्त्री आचार्यले जनाएका छन् । ‘बुटवलमा प्रदेश प्रमुखको कार्यालय पनि छ, पहिले यहाँ हुँदा धेरै सरकारी कार्यालयसँगको समन्वयमा काम गर्नुपर्ने हुन्छ, प्रदेश प्रमुखसँग पनि विभिन्न समयमा आइरहनुपर्छ त्यसका लागि पनि यहाँ आवश्यक देखियो,’ मुख्यमन्त्री आचार्यले भने ।

‘म हरेक शुक्रबार नियमित यहाँ आउँछु, शनिबार पूरै यहाँको काम गर्नेछु, शुक्रबार साँझको समय र आइतबार बिहानको समय गरी यो क्षेत्रका सेवाग्राहीलाई यहीबाट सेवा दिने व्यवस्था मिलाएको छ, म नहुँदा पनि एक जना सचिवालयका कर्मचारी राख्ने व्यवस्था हुनेछ,’ उनले थपे ।

यसअघि मुख्यमन्त्री कार्यालय धेरै ठाउँमा राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो । तर हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो इकाइको व्यवस्था गरिएको मन्त्री दिनेश पन्थीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *