
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन् ।
मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराए ।
खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उनले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औंल्याए ।
मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरी सम्बन्धि ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए ।
उनले भने, ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्न त पाइएन नि । केही समस्या छन् भने मैले गर्नुपर्ने पहल हुन्छ । कहाँ जानुपर्ने म जान्छु । अघि सचिवजीले के भन्नुभयो भने तेलको, चाउचाउको काठमाडौं महानगरपालिकाले चेक गर्यो भने । त्यो राम्रो कुरा हो । सबै पालिकाहरूले गर्नसक्ने त राम्रो कुरा हो । तर हेला सचिवज्यू, तपाई कुन मन्त्रालयको सचिव हो ? भनेर यदि भनिदियो भने यहाँ चेक गर्ने काम नगरपालिकाको हो कि ? यो सँग जति विश्वसनियता हुन्छ, अरुले ल्याएको सामानमा त्यति हुँदैन । त्यसकारण मलाई लाग्छ, तपाई मन्त्री हुनुभएको छ ।
तपाईले म पनि किसानको छोरो हुँ भन्नुहुन्थ्यो । अनि यहाँ हाम्रो हेर्ने कसले भनेर भन्यो भने अब जे छ, त्यही ठिक छ भन्ने कि । त्यसको जवाफ के हुनसक्छ ? त्यसका जवाफ दिनेगरी हामीले यहाँ बसेर काम गर्नुपर्छ । मेरो मान्यता के हो भने यस्ता प्रश्नको जवाफ दिन सक्नुपर्यो नि । काम गरे त हुन्थ्यो सबै पालिकाहरूले । तर जनताको विश्वसनियता कसमाथि होला । यसमा विचार गर्नुहोला । त्यो प्रश्न उठ्यो भने हामीप्रतिको विश्वसनियता गुम्न पनि सक्छ ।
यसतर्फ हामी सजग रहनुपर्छ भन्ने म जानकारी गराउन चाहन्छु । अब हामीसँग भर्खरै भोलिदेखि लागू हुनेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयन चरणमा लैजाँदै छौँ । अब यो ऐनलाई हामीले जनताको स्तरमा पुर्याउनका लागि र त्यही किसिमको सेवा दिनका लागि भूमिका कसको होला ? मलाई लाग्छ–यहाँ उपस्थित हुनुभएका राष्ट्र सेवक कर्मचारीहरूको हो नि । उहाँलाई प्रोत्साहित गरेर लैजानुपर्छ । उहाँहरूको वृद्धि विकासदेखि कुनैपनि ठाउँमा हामीले सहयोग पु¥याउन सक्यौँ भने जनतालाई विश्वास दिलाउन सकिन्छ भन्ने विश्वास म राख्न चाहन्छु ।’
मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताए ।