काठमाडौं । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएका छन् । हिट्स तीनमा रहेका उनले ५१.९१ सेकेण्डमा निर्धारित दूरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् ।
यसअघि एक सय मिटर फ्री स्टाइलमा एलेक्जेण्डरको नाममा ५२.१७ सेकेण्डको कीर्तिमान थियो । उनले सन् २०२४ को फेब्रुअरीमा दोहाको वर्ल्ड एक्वेटिक्स च्याम्पियनशीपमा उक्त रेकर्ड बनाएका थिए । यो टाइमिङमा उनी हिट्समा तेस्रो भए । कुल दशवटा हिट्सको प्रतिस्पर्धापश्चात् १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् । ७९ खेलाडी सहभागी प्रतिस्पर्धामा एलेक्सले २० खेलाडीलाई पछि पारे ।
जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो । लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेण्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ उनले ५३.४१ सेकेण्डमा दूरी तय गर्दै ५९ औं स्थान प्राप्त गरेका थि ए। गत ओलम्पिकको भन्दा योपटक उनले टाइमिङमा भने सुधार गरे ।
उनले दुवैपटक युनिभर्सल कोटाबाट ओलम्पिक्समा सहभागी भएका हुन्। तीनपटक वर्ल्ड च्याम्पियनसीप र एकपटक एशियन गेम्स पनि खेलिसकेका एलेक्जेण्डर हाल अमेरिकामा बसोवास गर्दै आएका छन् । उनी सिधै अमेरिकाबाट ओलम्पिकमा भाग लिन पेरिस पुगेका थिए। यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन् । एलेक्जेण्डर बाहिरिसँगै नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् ।
टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिण्टनका प्रिन्स दाहाल पनि पहिलो चरणबाटै बाहिरिसकेका छन् । प्रिन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । उनी आज पेरिस प्रस्थान गरेकी छिन् ।




