काठमाडौँ । प्रतिनिधि सभाका संसदहरुले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सत्तारुढ काँग्रेस सांसद राजेन्द्र बजगाईँ, एमालेकी सचेतक सुनिता बराल लगायतका सांसदहरूले हवाई र सडक दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद बजगाईँले सौर्य एयरलाईन्सको विमान दुर्घटना र त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै सो अवस्था आउन नदिनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेलेको ध्यानाकर्षण समेत गराए ।
उनले सरकारले हवाई दुर्घटना हुँदा शोक व्यक्त गर्दै आधा राष्ट्रिय झण्डा झुकाएको तर त्रिशूलीमा बस दुर्घटना हुँदा त्यस्तो नगरेर विभेद गरेको भन्दै आपत्ति पनि जनाए ।
सांसद बजगाईँले भने ‘नेपालको हवाई सेवाको लागि सरकारसँग परामर्श गरेर सम्माननीय सभामुखज्यूले यस विषयमा रुलिङ नै गर्नुपर्छ । हुन त बस दुर्घटनाको विषयमा सरकार अनुत्तरित छ । हामीले आधा झण्डा झुकायौँ सवाई सेवा दुर्घटनाको सन्दर्भमा । तर ६५ जनाको ज्यान गएको बस दुर्घटनाको बारेमा विभेद भयो भन्ने पनि प्रश्न उठेको छ । सम्माननीय सभामुखज्यूलाई म यो अनुरोध गर्न चाहन्छु कि यो विषयमा रुलिङ गरिदिनु पर्यो ।’
एमालेकी सचेतक बरालले सरकारले हवाई र सवारी दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन जरुरी रहेको बताइन् । उनले हवाई दुर्घटना हुन नदिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सचेत गराउन पनि सरकारलाई सुझाव दिइन् ।
सचेतक बरालले भनिन् ‘हवाई दुर्घटना र सडक दुर्घटनाका बारेमा विशेष ध्यानाकर्षण हुन जरुरी छ । सरकारले विशेष ध्यान दिन जरुरी छ । आज यात्रालाई मृत्युको गन्तव्य होकि भन्ने परिकल्पना गरेर हिँड्नुपर्ने जुन अवस्था छ । यो असाध्यै दुःखद् पक्ष छ । हवाई मार्गबाट दुई मिनेट पनि उड्न नपाउँदै भएको दुर्घटनाले हामीलाई विक्षिप्त मात्रै बनाएको छैन, ठूलो क्षति व्यहोर्नुपरेको छ ।
त्यसकारण यो क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई यो विषयमा विशेष ध्यानाकर्षण गराउन, यो निकायसँग सम्बन्धित व्यक्तिहरूलाई खबरदारी गर्न, नियमन र अनुगमनलाई विशेष प्रभावकारी बनाउनका लागि नीतिगत रुपमा नै विशेष ध्यानाकर्षण गराउन जरुरी छ भन्ने कुराको अनुभूति भएको छ । म सभामुखज्यूमार्फत मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै उक्ता दुर्घटनाका पाइलट आज भाग्यवश हामीलाई जीवित हुनुहुन्छ । विगतमा दुर्घटनामा ब्ल्याक बक्स पनि नभेटिने अवस्था हुन्थ्यो ।
त्यहाँ भएका प्राविधिकहरू दक्ष थिए कि थिएनन् भन्ने कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । हामीले सुनिए अनुसार त्यसको मेनटेन लकबुक अनुसार भएको थिएन भन्ने छ । यस विषयमा समिति बनेको छ । तर सरकारले पनि यस विषयमा ध्यान दिन जरुरी छ । यसको नियमन गर्ने प्राधिकरण छ । यसको पनि कमजोरी भयो कि भनेर हामी अनुमान गर्न सक्छौँ । ’
सचेतक बरालले हवाई दुर्घटना हुन नदिनका लागि सरकारले नीतिगत व्यवस्था नै गरेर अघि बढ्नुपर्ने पनि बताइन् ।




