
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राखेका छन्।
शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात प्रारम्भिक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए। उनले निर्माण व्यवसायीको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गरे।
उनले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताए। उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताए।
उनले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा विस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको उल्लेख गरे। अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको पनि बताए। उनले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताए।
अध्यक्ष ढकालले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भए पनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताए।
उनले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भए पनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गरे। उनले मौद्रिक नीतिमा भएका व्यवस्थाहरु सर्कुलरमा त्यही अनुसार आउन आवश्यक रहेको पनि उल्लेख गरे।