राजनीति

भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो : ‘प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राम्रो कामको पहल गर्दागर्दा हटाएर जनतामा जाने आधार तयार भएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, जनतालाई सेवा प्रवाह र अन्तर्राष्ट्रिय जगलाई सन्तुलन मिलाउने कुरामा समग्रमा राम्रो पहलकदमी लिएका ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

‘प्रचण्ड’को भनाइलाई उद्धृत गर्दै उनले भने, ‘यो पहलकदमी लिँदा हामीलाई हटाइएको छ । त्यसलाई हामीले अवसरको रूपमा लिनुपर्छ । जनतामा जाने, हाम्रो वर्गसँगको कडी कहीँ न कहीँ टुटेको थियो । त्यसलाई सुदृढ गर्ने अवसर प्राप्त भएको छ ।’

उनले आजको बैठकमा पार्टीको अबको रणनीति र समीक्षा गर्दै ६ जनाले आफ्नो धारणा राखेको बताए ।

उनले भने, ‘आज ६ जनाले आफ्नो कुरा राख्नुभएको छ । सदन र सडकमा प्रभावकारी बनाउनेदेखि संगठन र जनपरिचालनको विषयमा पनि छलफल भएको छ। अब हामीले अभियान चलाउँछौँ। यसले मार्गचित्र तयार परेपछि स्थायी कमिटी र केन्द्रीय समितिले आधार तयार गर्छ ।’

उनले बैठक आइतबारसम्म लम्बिन सक्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *