देश

पहिरोले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध, मध्यपहाडीको पर्वत खण्ड खुल्यो

बागलुङ। अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए । उनले अहिले वर्षा भइरहेकोले पहिरो पन्छाउन समस्या भएको बताए ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । जैमिनीका किसानले दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएकामा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुल्यो
गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुलेको छ ।

कुश्मा नगरपालिका–७ र ८ को सिमानास्थित तमादीखोलामा आएको लेदोसहितको बाढीले सडक अवरुद्ध बनेको थियो ।

सुरक्षाकर्मी र लोकमार्गको स्काभेटर प्रयोग गरी लेदो पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सीताराम ओझाले जानकारी दिए ।

सडक सञ्चालन भएसँगै रातिदेखि अलपत्र बनेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा धवलागिरि क्षेत्रमा आएका सवारीसाधन चुवामा र यस क्षेत्रबाट बाहिरिने सवारीसाधन खरेहामा अलपत्र बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *