राजनीति

कांग्रेस- एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् ।
प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् सुरु गरेको जिकिर गरे । उनले आफूले विधिको शासन सुरु गरेको जिकिर गरे । उनले काँग्रेस—एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको आरोप लगाए ।

उनले भने ‘नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईँहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो । प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् सुरु गरेँ, लोकतन्त्रको गोडमेल सुरु गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन सुरु गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । काँग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ । त्यो सत्य होइन । तपाईँहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै काँग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ । साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो । नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरु गर्न सकिन्थ्यो । तपाईँहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईँहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन । आज जुन समूहहरूले तपाईँहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईँहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।’

उनले अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *