देश

सुन तस्करी प्रकरण : ४६ प्रतिवादी, दुई खर्ब ६६ अर्ब ७६ करोड बिगो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ ।

जसमध्ये २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन् । पक्राउ पर्नेमा चिनियाँ र भारतीय व्यक्ति संलग्न रहेको सीआईबी स्रोतले जानकारी दिएको छ । उनीहरूविरुद्ध दुई खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गरिएको छ । यसबारे सीआईबीले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।

सीआइबीका अनुसार तस्करीको गिरोहले ९५ अर्ब रुपैयाँ भुक्तानी गरेको भौचर नै फेला परेको र अन्य रकम पनि अवैध माध्यमबाट कारोबार भएको जनाएको छ । उनीहरूले रकम ‘पे–वेल’ र ‘सजिलो–पे’ को ‘गेट–वे’मार्फत भुक्तानी गरेर सो कारोबार गरेका हुन् ।

सीआइबीका अनुसार पे–वेलबाट ८७ अर्ब १७ करोड र ‘सजिलो–पे’बाट ३६ अर्ब ९४ करोड रुपैयाँ गरी एक खर्ब २४ अर्ब ११ करोड रुपैयाँ भुक्तानी भएको छ । जसमध्ये ९० प्रतिशत सुन तस्करीमा लागि भएको र दुई ‘गेट–वे’ मार्फत तस्करीको सुनका लागि मात्रै एक खर्ब ११ अर्ब ६९ करोड सीआइबीले जनाएको छ ।

पूरक अनुसन्धानका क्रममा सीआइबीले हालसम्म २० आरोपीहरूलाई पक्राउ गरेको छ । उनीहरूकै सूचनाका आधारमा तस्करीका लागि प्रयोग गरिएका स्मार्ट वाच, मोबाइल, ब्रेक सु, रोलिङ पाइप, स्प्रे मेसिन, पानी तान्ने मेसिन, सेभिङ मेसिनलगायतका विभिन्न इलेक्ट्रोनिक डिभाइस बरामद गरेको छ । बरामदमध्ये सबैभन्दा धेरै परिमाण स्मार्ट वाचको रहेको सीआइबीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *