राजनीति

प्रधानमन्त्रीलाई परिस्थिति विचार गरेर अघि बढ्न आग्रह गरेको छु : ओली

काठमाडौं । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आज (आइतबार) ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए ।

उनले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता भएको उल्लेख गरे । उनले उद्यमशीलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए । उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा मोटो चामलको भए पनि उत्पादन बढाउनु पर्ने बताए ।

अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताए । उनले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौती निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु चुनौती रहेको बताए । अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सानातिना नियुक्तिहरूमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *