देश

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा सात दिन हिरासत रहने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पक्राउ परेका मितिले सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आुमति पाएको प्रहरीले जनाएको छ ।

झालाई प्रहरीले शुक्रबार नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ गरी उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको थियो । झाबारे जिल्ला प्रहरी कार्यालय काठमाडौँले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार झाको संलग्नता भने धेरै पछि खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् । केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ ।

उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *