
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको महत्वपूर्ण एजेण्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् ।
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले मुलुक सुशासन र समृद्धि प्राप्त गर्नेतर्फ लाग्नुपर्ने बताए । ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्त गर्ने महत्वपूर्ण एजेण्डा हुन्,’ देउवाले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति एकीकृत समाजवादीले कार्य गरेको छ ।’
सभापति देउवाले एकीकृत समाजवादीले गहिरो प्रतिबद्धताका साथ व्यवस्थाका पक्षमा काम गरिरहेको बताए । ‘यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ । भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘मुलुकमा शान्ति स्थापना गर्ने सवाल होस् या संविधान निर्माण गर्ने सवाल होस् माधवजीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । त्यसकारणले माधवजीले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिनु भएको कुरा सबैलाई थाहा छ ।’ एकीकृत समाजवादीको महाधिवेशन आइतबार उद्घाटन गरिएको हो । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।