
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् । महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रशारण गर्न प्रस्ताव गरेका छन् । असार १९ गते बिहान केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेका हुन् ।
‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नु भएको छैन,’ ढकालले भने । बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एजेण्डा छ । गत बुधवार महामन्त्री ढकालले गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।
प्रतिवेदनका संवेदनशील विषय सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । पार्टी सभापतिले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको विषय सभापति निकट सहप्रवक्ता प्रतिभा रावलले सार्वजनिक गरेकी थिइन् । तर, महामन्त्री ढकालले भने आफूमाथि कुनै पनि स्पष्टीकरण नसोधिएको जानकारी दिएका छन् ।