
काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्नेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदका प्रश्नको जवाफ दिनेछन्।
विनियोजन विधेयक, २०८१ अन्तर्गत अर्थ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन-संघीय मामिला तथा सामान्य प्रशासन-उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि छ ।
यस्तै गृह-परराष्ट्र-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।