
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री जोगाउन गिरिबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल नखोलेको आरोप लगाएका छन् ।
कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यो फाइल खोल्दा सरकार ढाल्ने डरले मौन बसेको बताए ।
उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्ने हो भनेर अरु विषयका छानबिन हुन बाँकी छ । तर, गिरीबन्धु टी-इस्टेटको त अदालतले फैसला गरिसकेको छ नि ! भ्रष्टाचारको फाइल खोल्छु भन्नेहरुलाई त्यो फाइल खोल्न के गाह्रो भयो ? अब त्यो फाइल खोल्ने होइन, त्यो खोल्यो भने त अहिलेको गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकारको समर्थन फिर्ता लिन्छ । त्यो भयो भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री जान्छ । भ्रष्टाचारको फाइल खोल्छु भनेको सत्तामा जान हो, सत्तामा गएपछि सत्ता नै ढल्नेगरी फाइल खोल्नेवाला छैन ।’
उनले गृहमन्त्रीको जिम्मेवारीमा बसेको व्यक्तिले सडकमा जस्तो पदको मर्यादा नराखी सदनमा अभिव्यक्ति दिएको बताए ।
सांसद पौडेलले अगाडि भने, ‘आज सरकारको उपप्रधानमन्त्रीले रोष्ट्रममा उभिएर विदेशीलाई सूचना बेच्ने मान्छे संसदमा छ भनिसकेपछि गृह मन्त्रालयले यो देशबाट कसले सूचना बेचेको छ भन्ने कुरा थाहा पाउनसक्छ, त्यसको नेतृत्वले भनिसकेपछि त्यो नभएको कुरा हुँदैन, भएको कुरा हुनुपर्छ । सडकको जस्तो जिम्मेवारी नभए जस्तो मनलाग्दी बोल्न सरकारमा बसेर मिल्दैन । त्यसरी बोल्ने प्रवृत्तिले पद र राजनीतिको मर्यादा रहँदैन ।