काठमाडौं । युरोकपमा युक्रेनले स्लोभाकियामाथि पुनरागमन जित हात पारेको छ । मर्कुर स्पिल–एरिनामा भएको खेलमा युक्रेनले स्लोभाकियामाथि २–१ गोलअन्तरको पुनरागमन जित निकालेको हो ।
खेलमा अग्रता भने स्लोभाकियाले लिएको थियो । खेलको १७औं मिनेटमा इभान स्क्रान्जले गोल गर्दै स्लोभाकियालाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको युक्रेन दोस्रो हाफमा भने पुनरागमन गर्यो । खेलको ५४औं मिनेटमा युक्रेनका लागि माइकोला सापारेन्कोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८०औँ रोमन यारेमचुकले गोल गर्दै युक्रेनलाई २–१ गोलअन्तरको जित दिलाए । जितपछि समूह ‘ई’ मा रहेको युक्रेनको दुई खेलबाट ३ अंक भएको छ । २ खेल खेलेको स्लोभाकियाको पनि ३ अंक नै छ । एक खेल खेलेको रोमानिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा अंकविहीन बेल्जियम तालिकाको पुछारमा छ ।




