काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् ।
शुक्रवार मन्त्रालयको सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिबद्धता दोहोर्याएका हुन् । यो वर्षे अधिवेशनमा सो विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री जोशीको भनाई थियो ।
उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टीकरण पनि दिए । मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सरकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । उनले सबै सरोकारवालाहरूसँगको परामर्शमा जो विधेयकलाई टुंगो लगाउन आफूहरू लागि परेको बताए ।
मन्त्री जोशीले भने ‘यो वर्षे अधिवेशनमा यो विधेयक आउँछ । यसमा तपाईँहरू कुनै भ्रममा नपर्दा हुन्छ । कुनै पनि हालतमा यो मन्त्रालय त्यसमा प्रतिबद्ध छ भन्ने कुरामा म भन्न चाहन्छु । यो अधिवेशनमा आउँछ । यो मेरो विश्व पनि हो । प्रतिबद्धता पनि हो । विश्वास के हो भन्दा खेरी सबै राजनीतिक दलहरूसँग छलफल गरेको छु । उहाँहरू पनि पोजेटिभ नै हुनुहुन्छ । मलाई लाग्छ– सबै राष्ट्रसेवक कर्मचारीहरू पनि हामीले जे समझदारी गछौं ।
यो कर्मचारीसँगै संवद्ध भएको हुनाले उहाँहरू सबै सरोकारवालाहरूसँग पनि परामर्श गरेर यसको टुंगो लगाउँला भन्ने कुरामा म तपाईँहरूलाई भन्न चाहन्छु । यो विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले यसमा धेरै छलफल पनि भयो । अहिले पनि विद्यालय शिक्षा विधेयक पनि अलि सजिलो ढंगले आउन सकेको छैन भने यही विधेयकमा पनि अलि बढी छलफल गर्नुपर्ने भएको हुनाले यो आउन सकेन । तर मैले फेरी पनि दोहो¥याएर भन्छु–यो विधेयक यो अधिवेशनबाट पास गर्ने तयारी गर्छौं । मन्त्रालय मन्त्रालय यसका लागि प्रतिबद्ध छ भनेर म तपाईँहरूलाई जानकारी गराउँछु । ’
मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकार समेत गरे । उनले सरकारले संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए ।




