देश

अवैध रुपमा सुनको कारोबार गर्ने तीन जना पक्राउ

काठमाडौं । अवैध रूपमा सुनको कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अन्जिल गुरुङ छन् ।

हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा उनीहरूले अवैध रूपमा सुन ल्याएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । चेकजाँचका क्रममा खाँले निलो रंगको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइ छिपाइ राखेको अवस्थामा ९ लाख ९९ हजार ३९६ रुपैयाँ बराबरको ६९.८९० ग्राम तौलको ब्रासलेट र ११.६५० ग्राम तौल भएको बेरुवा औँठी फेला परेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

प्रहरी उपरीक्षक जिसीका अनुसार खाँले सुन ओसारपसार गर्ने कार्यमा सन्तोष परियार र अन्जिल गुरुङको पनि संलग्नता भएको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *