खेलकुद

टी-२० विश्वकप : वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनले हरायो

काठमाडौँ । टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेष्टइन्डिजले फराकिलो जीत हात पारेको हो ।

जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो । विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन बनाउन बाहेक अरुले दोहोरो अंक नै बनाउन सकेनन् ।

अफगानिस्तानलाई अलआउट गर्न वेष्टइन्डिजका ओबेद म्याककोयले तीन, मुडाकेश मोती र अकिल हुसैनले दुई/दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रन बनाएको थियो । पुरणले ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एक/एक विकेट लिए । समूह सीबाट अफगानिस्तान र वेष्टइन्डिज दुवै सुपर-८ मा पुगिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *