देश

खेलाडीलाई सरकारले दियो जनही १३ लाख पुरस्कार

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । आज (आइतबार) काठमाडौंमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ । मन्त्रालयले आइतबार एक बधाई तथा सम्मान कार्यक्रम आयोजना गर्दै टी–२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीलाई १३ लाखका दरमा पुरस्कार वितरण गरेको हो ।

त्यस्तै, प्रशिक्षक, टिम व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई पनि नगदसहित सम्मान गरिएको छ ।१९ औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङ, कास्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा कास्य विजेता पलेशा गोवर्धन र आइसीसी मेन्स टि ट्वान्टी वल्र्ड कप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सरकारको तर्फबाट खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिले मन्त्रालयमा नियमित काम सुरु भएको बताए । उनले नेपालमा खेलाडीहरूको जस्तै अनुशासित राजनीतिको आवश्यकता रहेको बताए । उनले खेलाडी, खेलप्रेमी, प्रशंसकहरूबाट सिकेको सुसंस्कृत कुराहरू राजनीतिमा समावेश गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट विश्वकप खेल्दा नेपाली क्रिकेट टिमलाई गरेको मायाले ठूलो हौसला मिलेको बताए । उनले क्रिकेटमा भविष्य सुरक्षित छ भन्ने कुरा प्रमाणित भएको बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरूको पुरस्कार राशि प्राप्त हुनुले खेलाडीहरूमा ठूलो हौसला मिल्ने बताए । उनले काम गर्ने हुटहुटी एउटा नेतृत्वले राख्यो भने सकिन्छ भन्ने कुरा मन्त्री श्रेष्ठबाट पूरा भएको बताए । उनले परिषद्को बैठकले निर्णय गरेर फाइल पठाउने मात्रै काम हुने भन्दै सबै बाँकी काम मन्त्रालयबाट नै पूरा हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *