देश

ग्रामीण क्षेत्रमा गाँजा खेतीको वैधानिकताबारे बहस सुरु

काठमाडौं । मकवानपुरको ग्रामीण क्षेत्रमा गाँजा खेतीको वैधानिकताबारे बहस सुरु भएको छ । सरकारले चालु र आगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीको व्यावसायिक खेतीबारे उल्लेख भएको र २५ जेठमा समेत प्रतिनिधि सभाको कृषि समितिमा गाँजा खेतीबारे छलफल गरेपछि अहिले जमिन हुने किसानहरु गाँजा खेतीबारे बहसमा जुटेका छन् ।

गाँजा खेतीबारेको छलफलमा सरकार र सदन दुवै सकारात्मक देखिएपछि मकवानपुरका ग्रामीण क्षेत्रका जनप्रतिनिधि, विज्ञ र अभियान्ताहरूले पनि यसबारेमा बहस नै थालेका हुन् । मकवानपुरका राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकाका अध्यक्षसहित प्रतिनिधि र अभियन्ताहरूले गाँजा खेतीको वैधानिकताका लागि माग गर्दै मनहरी पिस पार्कमा बहस सञ्चालन गरेका हुन् ।

गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका युवा अभियन्ता राजेश भेटवालको संयोजकत्वमा भएको छलफलमा गाँजा बोक्दा जेल जीवन बिताइरहेका भरियाका परिवारहरूले दुखेसो व्यक्त गरेका थिए । उनीहरुले भूगोल अनुसार अन्य बाली लगाउँदा बाँदर, बँदेल लगायत वन्यजन्तुले नष्ट गरिदिने भन्दै गाँजा खेती उपयुक्त हुने भएपनि राज्यको कारण गाउँका अधिकांश युवा जेल जानु परेको बताएका थिए ।

‘पशुपन्छी र गाइवस्तुले गाँजा खेतीमा क्षति पनि गर्दैन । यसको अहिले भाउ पनि छ तर प्रहरी प्रशासनले गर्दा गाउँमा कोही छैनन्, सबै जेल गइसके । कि अरू राम्रो काम दिनुपर्‍यो नत्र यसलाई खुलाउनु पर्‍यो,’ कार्यक्रममा सहभागी एक पीडित महिलाले भनिन् । मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती गाँजा खेतीको वैधानिकताका लागि स्थानीय तहबाट हुनसक्ने सबै प्रयास गरिए पनि संसद र सरकारको हातमा रहेको बताएका थिए । उनले गाँजाकै कारण जेलमा परेका किसान र भरियाको सन्दर्भमा गाउँपालिकाले बजेटमा समेट्ने प्रयास गर्ने आश्वासन दिए ।

यस्तै राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्लले गाउँको अधिकांश युवाले गाँजा बोक्दा जेल पर्नुपरेको भन्दै पालिकाले चाडपर्वमा जेलमै गएर सहयोग गरेको भन्दै अब आउने बजेटमा गाँजाको कारण जेल पर्नेहरूको तथ्यांक राख्ने समेत बताएका थिए ।

कैलाश गाउँपालिका प्रमुख लोक मोक्तानले रहर नभएर बाध्यता र आर्थिक अवस्थाले गाँजा खेती गर्न परे पनि यसको वैधानिकता भएपमा मकवानपुरका किसानहरूलाई फाइदा हुने बताएका थिए । उनले पालिकाहरूले पनि यसबारे सोच्नुपर्ने भन्दै नीति तथा कार्यक्रममा पनि सम्बोधन गर्न प्रयास गर्ने बताए । कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरूले रोजगारीको अन्य अवसर नभएको र कृषिको बजार र उत्पादनमा समस्या भएकाले युवाहरू गाँजा खेतीमा जान बाध्य भएको बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *