देश

‘ग्यास’ बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, एक गम्भीर घाइते

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डमा शुक्रवार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा उपमहानगरपालिका–११ फूलवाली बस्ने वर्ष ३१ वर्षीय सुवास गुरुङ गम्भीर घाइते भएका छन् भने मोटरसाइकल पछाडि बस्ने ३३ वर्षीया निर्मला अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

अधिकारीको टाउको र शरीरको विभिन्न भागमा चोटलागेको थियो । चुरेहिल अस्पताल मकवानपुर हेटौँडामा उपचारको क्रममा अधिकारीको मृत्यु भएको उनले बताए । गम्भीर घाइते गुरुङको अस्पतालमा उपचार भइरहेको छ । चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको एएस २५ डिसी ०२१२ नम्बरको खाली ग्यास बुलेट गाडीले विपरित दिशाबाट आउँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल चालकले दिएको जानकारी अनुसार हेटौँडाबाट आउँदै गरेको नम्बर नखुलेको सेतो कलरको हाइलेक्स गाडिले अचानक ब्रेक लगाउँदा उक्त गाडीको पछाडि आउँदै गरेको मोटरसाइकलले हाइलक्स गाडीको पछाडि ठक्कर दिई मोटरसाइकल उछिट्टिन गई विपरित दिशाबाट जाँदै गरेको ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको उल्लेख छ ।

ग्यास बुलेट चालक भारत बिहार राज्य पटियार थाना सदियान सुदमि बस्ने ३७ ३७ बर्षिय मनिन्द्र कुमार दास, मोटरसाइकल, ग्यास बुलेट गाडी इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *