काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन् ।
सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ । सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै छोरीहरूको अपमान गरेको बताएका हुन् । ऋाज (बुधबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो अपमान हुने खालको बजेट निवियोजन गर्नुभन्दा त्यसलाई हटाउन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए ।
सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले भूकम्पले थला परेका कतिपय नागरिकका लागि अझै पनि बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे । सांसद बलायरले सरकारले भूकम्प पीडितहरूको राहतमा एकरूपता ल्याउन नसकेको आरोप पनि लगाए ।




