राजनीति

प्रतिनिधि सभामार्फत संसदीय छानबिन विशेष समिति गठन

काठमाडौं । प्रतिनिधि सभाले देशमा लामो समयदेखि देखा परेको सहकारीको समस्या हल गर्नका लागि संसदीय छानबिन समिति गठन गरेको छ । मंगलबार साँझ बसेको प्रतिनिधि सभाले एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन गरेको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको हो । समितिलाई रवि लामिछाने जोडिएका सहकारी लगायतका अन्य २९ वटा संकटग्रस्त सहकारीहरूको छानबिनका लागि कार्यादेश दिइएको छ । छानबिन समितिलाई ३ महिनाको अवधि दिएर २९ वटा समस्याग्रस्थ सहकारीमाथि अनुसन्धान गर्न निर्देशन गरिएको छ ।

समितिमा कांग्रेस र एमालेबाट २\२ र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

सत्तापक्ष र प्रतिपक्षबीच लामो समय सहकारीमा देखिएको समस्या समाधान गर्ने विषयमा छलफल चलेको थियो । प्रतिपक्ष दल संसदको सबैभन्दा ठूलो पाटीले सहकारीको समस्या देशको समस्या भएको भन्दै समिति गठन गर्न सरकारको बारम्बार ध्यानकर्षण गराएपछि सरकारले प्रतिपक्ष दल कांग्रेसको मागलाई सम्बोधन गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *