काठमाडौं । संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची पनि छ । त्यस्तै राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आजै राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेस गर्ने पनि कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समितिका माननीय सभापति जयन्तीदेवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । यद्यपि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति नबनाएसम्म दुवै सदन चल्न नसक्ने बताउँदै आएको छ ।




