काठमाडौं । खनियाबास गाउँपालिका ४ नेत्रावती डबजोङ गाउँपालिका १ जोड्ने बहुप्रतिक्षित किन्ताङफेदी बेलिब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न पुलको उद्घाटन बैशाख १६ गते बिहान ११ बजे, धादिङ क्षेत्र न २ का सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापती प्रभुराम शर्माको संयुक्त उपस्थितिमा उद्घाटन हुने भएको खनियाबास गाउँपालिकाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको सामाग्री सहयोग, नेपाली सेनाको प्राबिधिक सहयोग र खनियाबास गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाहरुको आर्थिक सहयोगमा चाइनिज ‘ 4- T single type’ बेलीबृज पुल निर्माण कार्य सम्पन्न भएको हो ।
पुल निर्माण सम्पन्न भए सगै बर्खाको समयमा समेत उत्तरी धादिङका रुबीभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाहरुका स्थानीयहरुलाई यातायातको साधन मार्फत आवतजावत गर्न सहज हुनेछ । विगतमा उक्त स्थानमा बेलिब्रिज निर्माणको अभावमा स्थानीयवासीहरुले समस्या भोग्दै आएका थिए ।





