
काठमाडौं।प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको छ।
सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सो विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको हो।
छलफलमा नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले विश्वविद्यालयको एउटा छाता ऐन बनाउन आवश्यक रहेको बताए। विश्वविद्यालय कलेज सरह मात्रै भएको भन्दै छाता ऐन बनाएर त्यो ऐनको प्रबन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ।
उनले भने, ‘मन्त्रीज्युलाई मेरो आग्रह के हो भने यति धेरै विश्वविद्यालय किन चाहिएको हो ? विश्वविद्यालय कलेज सरह हो? हामी हरेक विश्वविद्यालयको ऐन बनाउन राष्ट्रिय सभा र प्रतिनिधि सभामा छुट्टाछुट्टै छलफल अथवा हरेक विश्वविद्यालयको ऐनको बारेमा छलफल किन गछौँ? विश्वविद्यालयको छाता ऐन बनाउन सकिँदैन? छाता ऐन बनाएर त्यो ऐनको प्रबन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्न सकिँदैन ?’
उनले संघबाटै विश्वविद्यालयलाई स्वीकृत गर्ने हो भने भएका विश्वविद्यालय भन्दा फरक ढङ्गबाट शिक्षा, ज्ञान प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने परिस्थिति निर्माण हुने दाबी समेत गरे।